Saturday 27 April 2013

'विश्वासको बलियो आधार बनाउन भारत आएँ’

नयाँदिल्ली, वैशाख १५ - चीनबाट स्वदेश फर्किएको एक
साता नबित्दै अर्को छिमेकी मुलुक भारत आइपुगेका एकीकृत
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भ्रमण
नयाँदिल्लीसँग विश्वासको नयाँ र बलियो आधार स्थापित गर्न
केन्दि्रत हुने बताएका छन् । 'नेपालको राजनीतिक स्थिरता र
आर्थिक विकासका लागि विश्वासको नयाँ आधार बनाउनु
महत्त्वपूर्ण छ । मेरो भ्रमणको मुख्य उद्देश्य पनि त्यही हो,'
शनिबार नयाँदिल्ली आएपछि यहाँस्थित होटल
ओबरोयमा कान्तिपुरसँग कुरा गर्दै उनले भने । उनले नेपाल
राजनीतिक संक्रमण टुंग्याउने क्रममा रहेको चर्चा गर्दै
त्यसमा भारतीय सहयोग जरुरी रहेको टिप्पणी गरे ।
'भारतको नयाँदिल्लीमा भएको १२ बुँदे समझदारीबाट सुरु
भएको नेपालको नयाँ राजनीतिक यात्रा निष्कर्षमा पुर्याउने समय
आएको छ र त्यसका लागि भारतको सहयोग चाहिन्छ,' उनले भने ।
सेनापति प्रकरणपछि नयाँदिल्लीसँग चिसिएको सम्बन्ध
सुधारका लागि तीन वर्षयता प्रयास गरिरहेका दाहालले त्यस
दिशामा भ्रमण महत्त्वपूर्ण भएको जवाफ पनि दिए । 'इतिहासबाट
शिक्षा लिँदै अगाडिका आधार तयार पार्नुपर्छ भन्ने मेरो बुझाइ हो ।
त्यस अर्थमा यो भ्रमण महत्त्वपूर्ण छ,' उनले प्रस्ट्याए ।
यसलाई आफ्नो पार्टी र
नयाँदिल्लीबीचको सम्बन्धका रूपमा भन्दा पनि दुई
मुलुकबीचको सम्बन्धलाई नयाँ अवस्थामा कसरी अगाडि बढाउन
सकिन्छ भन्ने ढंगमा बुझिदिन उनले आग्रह गरे । नेपाल, भारत र
चीनको त्रिदेशीय साझेदारीबारे सोधिएको प्रश्नमा उनले
यो दूरगामी रणनीति भएको भन्दै यसलाई तुरुन्तै कार्यान्वयन नहुने
विषयका रूपमा अथ्र्याए । 'यस सन्दर्भमा भारतीय विदेशमन्त्रीले
राखेको धारणा यथार्थपरक छ । यसको कार्यान्वयनका लागि अहिले
नै हतारो हुन्छ भन्ने उहाँको भनाइको म कदर गर्छु तर
यो साझेदारीको विषयलाई भिजन र रणनीतिका रूपमा प्रस्तुत गर्न र
छलफलका क्रम जारी राख्छु,' उनले भने । त्रिदेशीय
साझेदारीको अर्थ द्विपक्षीय सम्बन्धलाई कमजोर पार्ने
नभएको प्रस्ट पार्दै उनले भने, 'द्विपक्षीयको जति मात्रा बढायो,
त्रिदेशीय त्यतिकै दह्रो हुन्छ ।' भारत र चीनबीच सन्तुलन गर्नुपर्ने
बाध्यताले त यो प्रस्ताव ल्याएको होइन भन्ने प्रश्नमा उनले
'कसैसँग नजिक र कसैसँग टाढा हुने सामन्ती र
राजशाही जमाना गइसकेको टिप्पणी गरे । 'अब त दुवै छिमेकीबाट
जतिसक्दो सहयोग जुटाउने अनि समृद्धिमा मुलुकलाई लिएर जाने
भन्नेमा केन्दि्रत हुनुपर्छ,' उनले भने । महत्त्वपूर्ण भेटघाट सुरु
चारदिने भ्रमणमा शनिबार आएलगत्तै दाहालले महत्त्वपूर्ण
भेटवार्ता सुरु गरेका छन् । उनी बसेको होटल ओबरोयमै उनलाई भेट्न
भारतीय विदेश सचिव रञ्जन मथाई पुगेका थिए ।
त्यसपछि दाहाल प्रमुख विपक्षी दल भारतीय
जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग भेट्न अशोक रोडस्थित
उनकै निवास पुगेका थिए । उक्त 'डिनर' भेटमा भाजपाका अन्य
वरिष्ठ नेता पनि थिए ।
आइतबार हिमाञ्चल प्रदेश जाने कार्यक्रम भने खराब
मौसमका कारण रद्द भएको भारतका लागि नेपालका कार्यवाहक
राजदूत खगनाथ अधिकारीले जानकारी दिए । सतलज नदीमा निर्मित
१५ सय मेगावाट क्षमताको नाथ्पा झाँक्री बाँध
अवलोकनका लागि जाने कार्यक्रम थियो । अब उनी दिल्लीनजिकै
पर्ने नोयडास्थित एक पावर स्टेसन अवलोकनका लागि जाने छन् ।
आइतबारै नेपाली दूतावासले दाहालको सम्मानमा रात्रिभोज
आयोजना गरेको छ ।
सोमबार साँझ ५ बजे भारतीय विश्व मामिला परिषद्ले आयोजना गर्ने
कार्यक्रममा दाहालले नेपाल-भारत सम्बन्धमाथि विशेष भाषण
दिनेछन् । लगत्तै नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीका अध्यक्ष
एवं सत्तारूढ नेसनलिस्ट कंग्रेस पार्टीका महासचिव
तथा राज्यसभा सदस्य डीपी त्रिपाठीले आयोजना गर्ने
रात्रिभोजमा सरिक हुनेछन् । त्यस दिन बिहान जनता दल
युनाइटेडका अध्यक्ष शरद यादवले आयोजना गर्ने
चियापानमा उनी जानेछन् । सोमबारै
लोकसभामा विपक्षी दलकी नेता सुष्मा स्वाराजले दाहालसँग
भेटवार्ता गर्नेछन् ।
मंगलबार भने दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह र
विदेशमन्त्री सलमान खुर्सिदसँग बेग्लाबेग्लै भेट्ने छन् । सिंहसँग
उनको भेट भारतीय प्रधानमन्त्रीको सरकारी निवास सेभेन रेसकोर्स
रोडमा हुनेछ । खुर्सिदले दाहालको सम्मानमा दिवाभोज
पनि आयोजना गर्नेछन् । दाहाल मंगलबार दिउँसो ३.५० बजे
स्पाइसजेटको उडानबाट स्वदेश र्फकने छन् । दाहाल शनिबार जेट
एयरवेजको नियमित उडानबाट साँझ पौने ६ बजे यहाँ आइपुगेका हुन् ।
उनका साथमा पत्नी सीता, नेता कृष्णबहादुर महरा र सहयोगी शिव
खकुरेल छन् ।
सोनियासँग भेटबारे अन्योल
भारतीय राजनीतिको केन्द्रविन्दुमा रहेकी कंग्रेस आई अध्यक्ष
सोनिया गान्धीसँग दाहालको भेट हुने वा नहुनेबारे भने अझै अन्योल छ
। एमाओवादीका अर्का नेता बाबुराम भट्टराई
प्रधानमन्त्रीका रूपमा डेढ वर्षअघि यहाँ आउँदा सोनियाले भेट
गरेकी थिइनन् । त्यसअघि नयाँदिल्ली पुगेका कांग्रेस सभापति सुशील
कोइरालासँग भने उनले भेटेकी थिइनन् । भारतीय स्रोतहरूका अनुसार
नेपाल र भारतको राजनीतिका दुई केन्द्रीय पात्र दाहाल र
सोनियाबीच भेट गर्नु जरुरी भएको भन्दै उच्चस्तरीय तहमा पहल
भइरहेको छ ।
वैद्य समर्थितले देखाए कालोझन्डा
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि बाहिर
निस्केर गाडी चढेलगत्तै दाहाललाई नेकपा माओवादीनिकट अखिल
भारत नेपाली एकता मञ्च र नेपाली प्रगतिशील
विद्यार्थी मञ्चका केही कार्यकर्ताले कालोझन्डा देखाएका थिए ।
त्यसमा क्रममा दाहाल चढेको गाडीमा ठोक्किएर आफ्ना दुई
कार्यकर्ता घाइते भएको एकता मञ्चका उपाध्यक्ष मोतीराम गौतमले
बताए । दाहालको भारत भ्रमण 'असान्दर्भिक' भएको र उनले
'क्रान्तिलाई धोका दिएको' भन्दै
कालोझन्डा देखाएको विद्यार्थी मञ्चका अध्यक्ष विमल अधिकारीले
बताए ।ekantipur.com

No comments:

Post a Comment